काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन नीतिगत सुधारसँगै द्रुत कार्यान्वयन अपरिहार्य रहेको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगार र पहुँच विश्वबजार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले आईटी क्षेत्रको विकासका लागि साना सुधार मात्र पर्याप्त नहुने, स्पष्ट नीति र तीव्र गतिमा काम अघि बढाउनुपर्ने बताए।
थापाले कीर्तिपुरसम्बन्धी आफूले विगतमा व्यक्त गरेको धारणा र त्यसपछि भएको चर्चाबारे पनि स्पष्ट पार्दै सत्ता साझेदार दलको संयन्त्रमा रहँदा विज्ञहरूसँग परामर्श गरेर आईटी क्षेत्रमा नीतिगत सुधारको पहल गरिएको जानकारी दिए।
उनका अनुसार सोही पहलअन्तर्गत ल्याइएका ६ वटा अध्यादेशमध्ये एउटा सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित थियो। उक्त व्यवस्थाले नेपाली आईटी कम्पनीलाई विदेशमा शाखा विस्तार गर्न र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने प्रक्रियालाई केही सहज बनाएको उनले बताए।
विश्वबजारमा भारत, फिलिपिन्स र कजाकिस्तानजस्ता मुलुकले सूचना प्रविधि क्षेत्रमा तीव्र प्रतिस्पर्धा गरिरहेको उल्लेख गर्दै थापाले नेपालसँग अब ढिलासुस्ती गर्ने समय नरहेको भन्दै समयमै नीतिगत निर्णय र प्रभावकारी कार्यान्वयनमा जोड दिए।