हेटौंडा । बागमती प्रदेशको नयाँ मुख्यमन्त्री चयनको विषयमा नेकपा (एमाले) भित्र देखिएको प्रतिस्पर्धा अन्ततः टुंगिएको छ। पार्टीभित्रका आकांक्षी नेताबीच सहमति जुटेसँगै एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ।
एमालेका सांसद तथा पूर्वमन्त्री मधुसूदन पौडेलका अनुसार शुक्रबार राति अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा भएको छलफलले थपलियाको नाममा सहमति जुटाएको हो। मुख्यमन्त्रीका अर्का दाबेदार भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री किरण थापा मगर पनि उक्त छलफलमा सहभागी थिए।
बैठकमा पार्टी सचिव तथा बागमती इञ्चार्ज महेश बस्नेत, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो। केन्द्रमा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको सत्ता साझेदारी सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भएपछि मुख्यमन्त्रीका लागि पार्टीभित्र प्रतिस्पर्धा तीव्र बनेको थियो।
चितवनका थपलिया र भक्तपुरका थापा मगरले नेतृत्वका लागि पार्टीभित्र आन्तरिक लबिङ गरेका थिए। थपलिया यसअघि बागमती प्रदेशका आर्थिक मामिला मन्त्री र थापा मगर स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
नयाँ राजनीतिक समीकरणसँगै साउन २०८१ देखि बागमतीमा कायम रहेको नेपाली कांग्रेस–एमाले गठबन्धन पनि समाप्त भएको छ।
हाल १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
एमाले र नेकपाको संयुक्त संख्या ५१ मात्रै हुने भएकाले बहुमतका लागि थप दुई सांसद आवश्यक पर्ने अवस्था छ। यही कारण सरकार गठनमा राप्रपा निर्णायक बन्न सक्ने देखिएको छ। एमालेले राप्रपासँग सरकार गठनबारे छलफल अघि बढाइसकेको सांसद पौडेलले जानकारी दिएका छन्।