काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेला व्यवस्थित रूपमा सम्पन्न गर्न पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ।
शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मूल आयोजक समितिसहित राष्ट्रिय भेलाका लागि आवश्यक विभिन्न विषयगत समिति गठन गरिएको जानकारी दिइएको हो।
नेता मीनबहादुर विश्वकर्माका अनुसार मूल आयोजक समितिमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनीत केन्द्रीय पदाधिकारी र सदस्य, प्रदेश कार्यसमितिका सभापति तथा पदाधिकारी, जिल्ला सभापति, उपत्यकाभित्रका जिल्ला कार्यसमितिका पदाधिकारी, महानगर तथा नगर सभापति समेटिएका छन्। त्यस्तै संघीय तथा प्रदेश सांसद, पूर्वमन्त्री, पूर्वसांसद तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखलाई पनि पदेन सदस्यका रूपमा समावेश गरिएको छ।
विश्वकर्माले समितिका सबै सदस्यको नामावली तयार गर्न केही समय लाग्ने भएकाले हालका लागि पदअनुसार पदेन सदस्यको व्यवस्था गरिएको बताए।
राष्ट्रिय भेलालाई नीतिगत तथा व्यवस्थापकीय रूपमा प्रभावकारी बनाउन मूल आयोजक समितिसँगै १६ वटा विषयगत समिति गठन गर्ने निर्णय गरिएको छ। तीमध्ये राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति प्रमुख छन्।
यस्तै प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, सांस्कृतिक, सहभागी व्यवस्थापन, स्वास्थ्य, शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापन समितिसमेत गठन गरिने जनाइएको छ।
विश्वकर्माले मूल आयोजक समितिसहित कुल १६ वटा समिति रहने जानकारी दिँदै ती समितिलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आगामी बैठकबाट पूर्णता दिइने बताए। उनका अनुसार मूल आयोजक समितिबाहेकका अन्य विषयगत समितिको संयोजक र सदस्यहरूको टुंगो पनि सोही बैठकले लगाउनेछ।
