चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा राति खसेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको छ।
मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर, वडा नं. ५ को तुइनखोला र वडा नं. ६ को नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेदेखि सडकमा सवारी आवागमन पुनः सुचारु भएको हो।
बिहान ६ः०० बजेदेखि तीनवटा एक्साभेटर प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको थियो। पहिरो पूर्ण रूपमा पन्छाइएपछि रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।