चितवन । मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजार नजिक मंगलबार बिहान सुक्खा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवका अनुसार अचानक पहिरो खसेपछि सडकको दुवैतर्फ सवारीसाधन रोकिएका छन्। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन प्रहरी र सडक विभागको समन्वयमा उद्धार तथा सफाइ कार्य तीव्र रूपमा अघि बढाइएको छ।
हाल घटनास्थलमा दुई वटा जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ भने कार्यलाई थप गति दिन अर्को एउटा मेसिन पनि सडक डिभिजन कार्यालय भरतपुरबाट घटनास्थलतर्फ पठाइएको छ।
प्रहरीका अनुसार थप पहिरो नखसेमा आगामी १ देखि २ घण्टाभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। सडक अवरुद्ध हुँदा हजारौँ यात्रु तथा सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
सडक डिभिजन कार्यालय भरतपुरले यात्रुहरूलाई धैर्यताका साथ सहयोग गर्न आग्रह गर्दै पहिरो हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।