काठमाडौं । बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरे।
आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुवाती चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवाका सवारीलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। केही दिन सञ्चालन र सुरक्षा प्रणालीको परीक्षणपछि अन्य सबै वर्गका सवारीसाधनलाई पनि प्रवेश खुला गरिनेछ। परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीबाट कुनै शुल्क लिइने छैन।
सडक विभागका अनुसार नियमित सञ्चालनपछि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको शुल्क तिर्नुपर्नेछ। कार तथा भ्यानले काठमाडौंतर्फ आउँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ। यस्तै, बस तथा ठूला ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।
पैदलयात्री, मोटरसाइकल, तीनपाङ्ग्रे सवारी तथा डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।
कुल २,६८८ मिटर लामो आयोजनामा मुख्य सुरुङ र उद्धार सुरुङ गरी दुई वटा सुरुङ निर्माण गरिएको छ। मुख्य सुरुङबाट सवारीसाधन सञ्चालन हुनेछ भने आपत्कालीन उद्धारका लागि छुट्टै उद्धार सुरुङ प्रयोग गरिनेछ। सुरुङमार्गको निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो।
परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङभित्र दमकल, आकस्मिक उद्धार प्रणाली, सिसिटिभी निगरानी, सञ्चार सुविधा, सुरक्षा संयन्त्र तथा पर्याप्त अक्सिजन प्रवाहसहित आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ।
चन्द्रागिरी नगरपालिका–१ दहचोक (टोटीपाखा) बाट सुरु हुने सुरुङमार्ग धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलामा पुगेर जोडिन्छ। यसमार्फत हालको घुमाउरो र उकालो सडकमा हुने ट्राफिक जाम घट्ने, इन्धन बचत हुने र यात्राको समय करिब एक घण्टासम्म कम हुने अपेक्षा गरिएको छ।
आयोजनामा जापान सरकारको करिब २१ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानी रहेको छ। सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि सेवा प्रदायक छनोट भइसकेको छ भने सुरक्षा तथा प्राविधिक टोलीले नियमित अनुगमन सुरु गरिसकेको छ। भुक्तानी विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाइएको छ।
४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने प्रारम्भिक लक्ष्य रहे पनि कोभिड–१९ महामारी र अन्य प्राविधिक जटिलताका कारण आयोजना निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।
यस आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सम्पन्न भएको थियो।