काठमाडौं । बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन हुँदैछ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, काठमाडौंस्थित जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षसहित उच्च अधिकारीहरूको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिने कार्यक्रम छ।
उद्घाटनसँगै निर्माण कम्पनीले सुरुङमार्ग नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गर्नेछ। प्रारम्भिक चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइनेछ। केही दिन परीक्षण सञ्चालन गरेपछि सबै वर्गका अनुमति प्राप्त सवारीसाधनका लागि मार्ग खुला गरिने सडक विभागले जनाएको छ।
दुई हजार ६८८ मिटर लामो सुरुङमार्ग प्रयोग गर्न सवारीसाधनले तोकिएको शुल्क तिर्नुपर्नेछ। विभागका अनुसार कार र भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौंतर्फ आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ बुझाउनुपर्नेछ। त्यसैगरी, ठूला बस र ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ तथा बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ।
सुरुङमार्गमा पैदलयात्री, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न पाइने छैन। साथै पेट्रोल, डिजेल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई पनि प्रवेश निषेध गरिएको छ।
जापान सरकारको करिब २१ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको यो आयोजना सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर कोभिड–१९ महामारी तथा अन्य प्राविधिक जटिलताका कारण निर्माण कार्य निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।