काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत र बंगलादेश नेपालबाट विद्युत् खरिद गर्न इच्छुक भए पनि उत्पादन बढाउन नसक्दा त्यसको लाभ लिन नसकिएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालले करिब ८७ प्रतिशत वस्तु आयात र १३ प्रतिशत मात्रै निर्यात गरिरहेको उल्लेख गर्दै बढ्दो व्यापार घाटा कम गर्न जलस्रोतको उपयोगमार्फत विद्युत् उत्पादन र निर्यातमा जोड दिनुपर्ने बताए।
यादवका अनुसार बंगलादेशले ठूलो परिमाणमा नेपाली विद्युत्को अपेक्षा गरिरहेको छ भने भारतलाई पनि स्वच्छ ऊर्जाको आवश्यकता छ। तर नेपालमा विद्युत् उत्पादन विस्तारको गति सुस्त रहेकाले निर्यातको सम्भावना उपयोग हुन नसकेको उनले बताए।
‘भारत र बंगलादेश दुवै नेपालबाट बिजुली किन्न तयार छन्,’ उनले भने, ‘तर हामी उत्पादन बढाउन सकेका छैनौं।’
उनले विगतमा सुरक्षा तथा रणनीतिक कारण देखाउँदै भारतले चिनियाँ लगानीमा उत्पादित नेपाली विद्युत् खरिदमा अनिच्छा देखाएको उल्लेख गर्दै अहिले परिस्थिति बदलिएको बताए। चीन–भारतबीच व्यापार र लगानी विस्तार भइरहेकाले नेपालले कूटनीतिक पहल बढाए विद्युत् निर्यातमा देखिएका अवरोध हट्न सक्ने उनको भनाइ थियो।
नेपालको व्यापार घाटा घटाउने प्रभावकारी उपाय जलस्रोतको उपयोग भएको उल्लेख गर्दै यादवले विद्युत् उत्पादनसँगै सिँचाइ र खानेपानी क्षेत्रमा पनि जलस्रोतको प्रभावकारी उपयोग गर्न सके मुलुकलाई अल्पविकसितबाट विकासशील राष्ट्रतर्फ अघि बढाउन सहयोग पुग्ने बताए।
उनले चुरे क्षेत्रमा भइरहेको दोहन र वन फँडानीका कारण जलस्रोतमा असर परेको दाबी गर्दै चुरे संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने पनि बताए। जलवायु परिवर्तन र चुरे विनाशका कारण हिमालमा हिउँ घट्दै जाँदा तराईमा सुख्खापन बढेको र त्यसले खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रमा असर पारिरहेको उनको भनाइ थियो।