काठमाडौं । विश्वकै लोकप्रिय खेल फुटबललाई जलवायु परिवर्तनको मुद्दासँग जोड्दै काठमाडौंमा आयोजित एक कार्यक्रममा युवाहरूले ‘नेट जिरो’ (शून्य कार्बन उत्सर्जन) को सन्देश प्रवाह गरेका छन् । ‘जलवायु कार्य, विश्वकप र युवा सहभागिता’ विषयक कार्यक्रममा सहभागी युवाहरूले फुटबलको रणनीतिक संरचनालाई जलवायु संरक्षणसँग जोड्दै विश्वका नेताहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।
प्रकृति रिसोर्सेस सेन्टरद्वारा आयोजित कार्यक्रममा युवाहरूले फुटबलमा रहने रक्षापंक्ति, मिडफिल्ड र फरवार्डको भूमिकालाई जलवायु कार्यका विभिन्न सरोकारवालासँग तुलना गरे । उनीहरूका अनुसार फुटबलमा टोलीबीचको समन्वय जत्तिकै जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सरकार, अन्तर्राष्ट्रिय निकाय, नागरिक समाज र निजी क्षेत्रबीचको एकीकृत प्रयास अपरिहार्य छ ।
कार्यक्रममा सहभागी केही युवाहरूले सरकारलाई ‘फरवार्ड’ को भूमिकामा राख्दै जलवायु लक्ष्य हासिल गर्न निर्णायक ‘गोल’ गर्नुपर्ने धारणा व्यक्त गरे । कसैले नीति निर्मातालाई ‘मिडफिल्ड’ र अनुसन्धानकर्तालाई ‘स्ट्राइकर’ का रूपमा चित्रण गर्दै आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए ।
यसै क्रममा पेरिस सम्झौता र जलवायु कोषबाट अलग रहने अमेरिकी नीतिप्रति संकेत गर्दै युवाहरूले जलवायु सम्बन्धी जिम्मेवारीबाट पछि हट्ने मुलुकले अन्ततः पराजय भोग्नुपर्ने सांकेतिक सन्देशसमेत दिएका थिए ।
प्रकृति रिसोर्सेस सेन्टरका कार्यक्रम व्यवस्थापक सन्तकुमार महर्जनले फिफामा आबद्ध २१२ राष्ट्रलाई ‘क्लाइमेट एक्टर’ का रूपमा अघि बढाउन सके विश्वभर सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।
संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) ले यस शताब्दीको मध्यसम्म विश्वलाई ‘नेट जिरो’ मा पुर्याउने लक्ष्य तय गरेसँगै फिफा विश्वकपजस्ता ठूला खेलकुद प्रतियोगिताको वातावरणीय प्रभावबारे पनि बहस तीव्र बन्दै गएको छ । कार्यक्रम संयोजक प्रज्ञा शेरचनले फुटबलको माध्यमबाट विश्वका नेताहरूलाई जलवायु कार्यमा ऐक्यबद्ध हुन दबाब दिने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइन् ।
ग्लोबल कार्बन एकाउन्टिङ प्लेटफर्म ‘ग्रीनली’ का अनुसार विश्वकप आयोजनाका क्रममा करिब ७७ लाख ६७ हजार ५४३ टन कार्बन उत्सर्जन हुने प्रक्षेपण गरिएको छ, जुन सन् २०२२ को विश्वकपको तुलनामा झन्डै दोब्बर हो । दर्शकहरूको हवाई यात्रा, यातायात, आवास र रंगशाला सञ्चालनका कारण उत्सर्जन बढ्ने अनुमान गरिएको छ ।
यद्यपि आयोजक राष्ट्रहरूले १३ वटा रंगशालालाई ‘एलइइडी’ प्रमाणित हरित भवन प्रविधिमा आधारित बनाएका छन् । प्रतियोगितामा प्लास्टिकको प्रयोग न्यूनीकरण तथा विद्युतीय सवारीसाधनको प्रयोगलाई पनि प्राथमिकता दिइएको छ । तर फिफाको करिब ११ अर्ब अमेरिकी डलरको कुल बजेटको तुलनामा कार्बन उत्सर्जन न्यूनीकरणका लागि गरिएको लगानी अत्यन्त न्यून रहेको विज्ञहरूको तर्क छ ।
विश्वको कुल कार्बन उत्सर्जनमा ३३ प्रतिशत हिस्सा ओगटेको चीनले सन् २०६० सम्म र ८ प्रतिशत उत्सर्जन गर्ने भारतले सन् २०७० सम्म ‘नेट जिरो’ हासिल गर्ने लक्ष्य लिएका छन् । युरोपेली मुलुकहरूले पनि कार्बन न्यूनीकरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् । तर ११ प्रतिशत उत्सर्जन गर्ने अमेरिकाले स्पष्ट लक्ष्य निर्धारण नगर्नु र जलवायु कार्यप्रति उदासीन देखिनु चिन्ताको विषय भएको कार्यक्रममा उल्लेख गरियो ।
कार्यक्रममा सहभागीहरूले विश्वकप फुटबलको लोकप्रियतालाई कायम राख्दै त्यसलाई ‘नेट जिरो’ अवधारणाअनुकूल कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा व्यापक बहस आवश्यक रहेको धारणा राखे । सन् २०३० को विश्वकपसम्म फिफाले वातावरणीय लागतलाई स्वीकार गर्दै पूर्ण रूपमा जलवायुमैत्री प्रतियोगिता आयोजना गर्न सक्छ वा सक्दैन भन्ने प्रश्न अहिले विश्वव्यापी बहसको विषय बनेको उनीहरूको भनाइ छ ।