उदयपुर । उदयपुरको कटारीबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको जंगलबाट सोमबार बिहान १ हजार १ सय २२ किलो ६७ ग्राम गाँजासहित तीन जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहान करिब ४ बजे कटारी वन क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले जंगलभित्र खोजतलास गर्ने क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरोमा ल्याएर लुकाइराखेको अवस्थामा ५२ बोरामा प्याक गरिएको गाँजा बरामद गरेको हो।
गाँजासहित ताप्ली गाउँपालिका–१ डाँडागाउँका अन्दाजी ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार पक्राउ परेका तीनै जना र गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरोलाई इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।