काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले बाढीपहिरोका कारण प्रभावित अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् । संकटका बेला हुने कालोबजारी र अनुचित नाफाखोरी नियन्त्रण गर्न राज्य कडाइका साथ प्रस्तुत हुनुपर्ने उनले बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक छलफलमा मल्लले ग्यास आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न नेपाल आयल निगमले व्यावहारिक नियमन गर्नुपर्ने बताए । उपभोक्ताले एउटा उद्योगको खाली सिलिन्डर दिएर अर्को उद्योगको भरिएको सिलिन्डर लिन सक्ने ‘क्रस–एक्सचेन्ज’ व्यवस्था गर्न सके ग्यास अभाव तत्काल हटाउन सकिने उनको भनाइ थियो ।
‘धमिलो पानीमा माछा मार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न राज्य कडाइका साथ प्रस्तुत हुनुपर्छ,’ उनले भने ।
मल्लले अविरल वर्षा र बाढीपहिरोका कारण तातोपानी र केरुङ नाकामा अवरोध भएकाले वैकल्पिक रूपमा मुस्ताङको कोरोला नाका तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताए । व्यवसायीलाई सडक मार्गको विकल्पका रूपमा समुद्री मार्गबाट कन्टेनरमा सामान आयात गर्नेतर्फ पनि ध्यान दिन उनले आग्रह गरे ।
उनले अन्तर्राष्ट्रिय व्यापारमा बीमालाई अनिवार्य रूपमा पालना गर्न व्यवसायीलाई सुझाव दिए । बीमा नगरी ल्याइएका सामान बाटोमा क्षति हुँदा व्यवसायीले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको भन्दै उनले व्यापारिक मापदण्ड र उत्तरदायित्व पालना गर्न आग्रह गरे ।