काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको हालैको अभिव्यक्तिलाई लिएर आफ्नो पूर्ववत् धारणा दोहोर्याउँदै संसद्मा उपस्थित भएर स्पष्टीकरणसहित माफी माग्नुपर्ने माग पुनः अघि सारेको छ।
मंगलबार ढिला गरी सुरु भएको प्रतिनिधि सभा बैठकमा धारणा राख्दै काँग्रेस सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय संवेदनशीलतासँग जोडिएको विषय भएकाले त्यसलाई सामान्य रूपमा लिन नसकिने बताएका हुन्।
उनले उक्त विषयमा आफ्नो पार्टी गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट जवाफ दिनुपर्ने र माफी माग्नुपर्ने अडान यथावत् रहेको स्पष्ट पारे। काँग्रेसका अनुसार प्रधानमन्त्रीबाट आवश्यक जवाफ नआएसम्म सदन सञ्चालनप्रति आफ्नो असन्तुष्टि कायम रहनेछ।
सीमा विवादसम्बन्धी विषयमा प्रधानमन्त्रीले व्यक्त गरेको भनाइको आधार र तथ्य सार्वजनिक हुनुपर्ने माग विपक्षी दलहरूले निरन्तर उठाउँदै आएका छन्। तथ्य पुष्टि गर्न नसकिए प्रधानमन्त्रीले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने उनीहरूको धारणा छ।
यता सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने विपक्षी दलको उक्त मागप्रति सहमति जनाएको छैन।
आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको जानकारी गराउनेलगायत विषय समावेश रहेका छन्।