काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सत्ता समीकरणले मुलुकको लोकतन्त्रलाई ‘गाइडेड डेमोक्रेसी’ (निर्देशित लोकतन्त्र) तर्फ धकेल्न खोजेको आशंका व्यक्त गरेका छन् ।
सानेपामा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नागरिकहरूमा विद्यमान आक्रोशको जगमा उभिएर बनेको वर्तमान सत्ताले जनताको सोही भावनालाई दुरुपयोग गर्दै व्यवस्थालाई नै संकुचित पार्न खोजेको उनको तर्क छ । सभापति थापाले गणतन्त्रको स्वरुप र कार्यशैलीमा सुधारको अपेक्षा राखेका नागरिकको आक्रोशलाई सत्ताले गलत दिशातिर मोडिरहेको टिप्पणी गरे । सभापति थापाले नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्दै लोकतान्त्रिक जगलाई बलियो बनाउनुको सट्टा शक्ति केन्द्रित गर्ने र व्यवस्थालाई नियन्त्रित गर्नेतर्फ सरकार उद्यत देखिएकोमा चिन्ता व्यक्त गरे । उनले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए । थापाले वर्तमान राजनीतिक व्यवस्था (गणतन्त्र) नागरिकको तन्त्र हुन नसकी केही सिमित नेताहरूको शासनमा खुम्चिएको टिप्पणी गरे । सभापति थापाले संविधानले परिकल्पना गरेको गणतन्त्र व्यवहारमा लागू हुन नसकेको बताउँदै यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । यस्तो अवस्थामा काँग्रेस दरिलो रूपमा उभिनुपर्ने र गणतन्त्रलाई वास्तविक अर्थमा नागरिकको तन्त्र बनाउन काम गर्नुपर्ने बताए ।
उनले भने, ‘यो संविधानले नेपालमा गणतन्त्रको स्थापना गरेको छ । गणतन्त्र चाहिँ नागरिकको तन्त्र जस्तो भएन । गणतन्त्र नेताको तन्त्र जस्तो भयो । केही सीमित तीन चार जना नेताको शासन जस्तो । गणहरूको तन्त्र जस्तो भएन यसलाई बदल्नुपर्छ यसलाई सुधार्नुपर्छ भनेर नागरिकहरूले आक्रोश व्यक्त गरेको त्यो आक्रोशको बलमा निर्माण भएको सत्ताले नागरिकको आक्रोशलाई प्रयोग गरेर गणतन्त्रलाई गाइडेड तन्त्र तिर, हाम्रो डेमोक्रेसीलाई कतै गाइडेड डेमोक्रेसीतिर लिएर जाने लागेको त होइन यी आशङ्काहरू छन् । यी कुनै निष्कर्षमा पुग्नुपर्छ भनेको होइन मैले । तर प्रतिपक्षको रूपमा हाम्रो जिम्मेवारी हो यो । समाजमा नागरिकहरूले आशङ्का व्यक्त गर्न थालेका छन् कयौँ घटनाहरूबाट कयौँ प्रकरणहरूबाट यी कुराहरूले पुष्टि गर्ने आधारहरू बनेका छन् अब काँग्रेस दरिलो सँग उभिनुपर्छ र गणतन्त्रलाई थप नागरिकहरूको तन्त्र बनाउने तर्फ हामीले काम गर्ने हो । हाम्रो जिम्मेवारी हो । डेमोक्रेसीको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको कानुनको शासन विधिको शासन हो । कानुनको शासनले के भन्छ कानुन भन्दा माथि कोही पनि हुँदैन । प्रधानमन्त्री पनि हुनुहुन्न । कोही पनि हुनुहुन्न । कानुनको शासनले कहिलेकाहीँ परिणामलाई मात्रै परिणाम स्वच्छ भएर मात्र हुँदैन प्रक्रिया पनि त्यत्तिकै स्वच्छ हुनुपर्छ । पछिल्ला समयमा के देखिन थालेको छ तिमीलाई सफा र स्वच्छ परिणाम दिन्छु भन्ने नाममा प्रक्रियाहरू मिचिएको कुरालाई सामान्यीकरण गर्ने जनरलाइज गर्ने जुन कुरा देख्न थालिएको छ यो डेमोक्रेसीको स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । यहाँनिर नेपाली काँग्रेस सचेत गराउनुपर्ने छ ।’
लोकतान्त्रिक प्रणालीमा विधिको शासन सर्वोपरी हुने उल्लेख गर्दै उनले कानूनभन्दा माथि प्रधानमन्त्री लगायत कोही पनि हुन नसक्ने स्पष्ट पारे। थापाले परिणाम मात्र स्वच्छ भएर नपुग्ने भन्दै त्यसलाई प्राप्त गर्ने प्रक्रिया पनि उत्तिकै पारदर्शी र स्वच्छ हुनुपर्ने बताए।