काठमाडौं । आज १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
जन निर्वाचित पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनः स्थापना गरेका थिए भने त्यसपछि गठित सरकारबाट भएको संविधान सभाको निर्वाचनबाट निर्वाचित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।
गणतन्त्र दिवस मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहनेछ । सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट मार्चपास्ट र विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ ।
दिवसका अवसरमा लोकतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको स्मरण गरिँदैछ ।
गणतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई यो एक उन्नत शासकीय पद्धति र जीवनशैली पनि हो । यसले नागरिकलाई शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र समानुपातिक समावेशी अधिकारको सुनिश्चितता प्रदान गरेको छ ।
गणतन्त्रको १८ वर्ष पूरा भई १९औँ वर्षमा प्रवेश गरिरहँदा नागरिकका अपेक्षाहरू अझ बढेका छन् । राजनीतिक अधिकारको प्राप्तिपछि अब आर्थिक समृद्धि, सुशासन र नागरिकको जीवनस्तरमा सुधार ल्याउनु नै गणतन्त्रको मुख्य कार्यभार रहेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ । उत्पादन वृद्धि, रोजगारी प्रवर्द्धन र भ्रष्टाचारमुक्त प्रशासनमार्फत आम नागरिकलाई गणतन्त्रको वास्तविक महसुस गराउनु आजको आवश्यकता हो ।