काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा आज प्रस्तुत गर्दैछ ।
प्रदेश सभा सचिवालयका अनुसार बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रदेशसभाको नवौँ अधिवेशन बुधवारदेखि सुरु भएको हो । अधिवेशनको पहिलो दिन बसेको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले प्रदेशको वर्तमान अवस्था र आगामी योजनाबारे आ–आफ्ना धारणा राखेका थिए ।
आज प्रदेश प्रमुखबाट प्रस्तुत हुने नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि प्रदेशसभामा छलफल हुनेछ र सोही आधारमा आगामी असार १ गते प्रदेश सरकारले नयाँ बजेट सार्वजनिक गर्नेछ ।