काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसदमा देखिएको समावेशी र समानुपातिक प्रतिनिधित्वलाई राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले लामो संघर्ष, आन्दोलन र बलिदानको परिणामस्वरूप प्राप्त वर्तमान प्रतिनिधित्व प्रणालीलाई “इतिहासमै गहिरो अर्थ बोकेको उपलब्धि” भन्दै यसको महत्व उच्च रहेको बताए। उनका अनुसार यो प्रतिनिधित्व व्यवस्था केवल राजनीतिक उपलब्धि मात्र नभई सामाजिक रूपान्तरणको संकेत पनि हो।
प्रचण्डले संसदमा आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु तथा अन्य पिछडिएका समुदायको सहभागिता उल्लेखनीय रूपमा बढेको भन्दै यसलाई विगतको तुलनामा महत्वपूर्ण प्रगति भएको बताए। उनले समावेशी संरचना निर्माणलाई आफ्नो राजनीतिक यात्राको आधारसँग जोड्दै आन्दोलनका क्रममा भएको त्याग र योगदानको स्मरण गरे।
सोही क्रममा उनले हालको राजनीतिक परिदृश्यबारे टिप्पणी गर्दै स्वतन्त्र राजनीतिक व्यक्तित्व बालेन शाह र रवि लामिछाने को निर्वाचन सफलताप्रति बधाई व्यक्त गरे।
उनले बालेन शाह प्रधानमन्त्री बन्नु सम्भव भएको अवस्थालाई “क्रान्तिको उद्देश्य र संकल्पको विजय” का रूपमा व्याख्या गरे। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको निर्वाचन परिणामलाई पनि उल्लेख गर्दै उनले नयाँ राजनीतिक शक्तिहरूको उदयलाई स्वीकार गर्नुपर्ने धारणा राखे।
प्रचण्डले आफ्नो दलको निर्वाचन परिणाम अपेक्षाकृत कमजोर भए पनि राजनीतिक वातावरण निर्माण र परिवर्तनको प्रक्रियामा खेलेको भूमिकामा आफूहरू गर्व गर्ने बताए। साथै, ऐतिहासिक बलिदानलाई बिर्सिएमा राज्य संरचना नै कमजोर हुने चेतावनीसमेत उनले दिए।