महोत्तरी – मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेसमा कुपोषणको समस्या समाधानका लागि बानीव्यवहारमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।
मधेस प्रदेशको स्वास्थ्य सेवा निर्देशनालय सपही धनुषाले लालगढमा आजदेखि सुरु गरेको तीनदिने मधेस प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलन–२०८३ उद्घाटन गर्दै मुख्यमन्त्री यादवले प्रत्येक घरको भान्साघर व्यवस्थित गर्नसके अवस्थामा सुधार आउने उल्लेख गरे ।
मधेस खाद्य सामग्री उत्पादनका दृष्टिले अन्य प्रदेशका तुलनामा राम्रो भए पनि उपयोग ठिकसँग नहुँदा यहाँ कुपोषण समस्या बनेको उनको भनाइ छ ।
तीनदिने शिखर सम्मेलनले मधेसमा कुपोषणका कारण देखिने पुड्कोपन, ख्याउटेपन र रक्तअल्पताको समस्या निदानमा ठोस निष्कर्ष दिने मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जंगीलाल रायले बताए । सम्मेलनमार्फत अनुगमनको पाटोलाई प्रभावकारी बनाउन ठोस तालिका निर्माण गर्न रायले सुझाए।
सम्मेलनमा पोषण नीतिबारे विज्ञहरूबीच गहन संवाद गरी निष्कर्ष निकालिने मधेस प्रदेश सरकारको स्वास्थ्य सचिव डा प्रमोदकुमार यादवले स्पष्ट पारे ।
सम्मेलनमा प्रदेशका सबै पोषणसम्बद्ध प्रदेशस्तरीय सरकारी कार्यालयका प्रमुख, प्रादेशिक अस्पतालका प्रमुख, पोषणविद् र आठै जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख र पोषण अधिकृतको सहभागिता रहेको छ ।