काठमाडौँ – नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य मंगलबारदेखि लागू हुने सङ्घका सचिव मदन पोखरेलले जानकारी दिए ।
सोमबार भौतिक र भर्चुअल रूपमा भएको बैठकमा चितवनलाई आधार मानेर नयाँ समर्थन मूल्य ताेकिएकाे हाे । नयाँ मूल्यअनुसार अण्डाकाे मूल्य बढेकाे छ ।
ठुलो अण्डा प्रति क्रेटको मूल्य ४८५ रुपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ५०० रुपैयाँ कायम गरिएको छ । यसअघि ठुलो अण्डा प्रति क्रेटको ४५० रुपैयाँ थियो भने एक्सएल अण्डा प्रति क्रेट ४६५ रुपैयाँ थियो।
मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ४३५ रुपैयाँ तोकिएको सचिव पोखरेलले बताए । यसअघि मिडियम अण्डाको मूल्य ४ सय थियो । सानो अण्डा प्रति क्रेट २५०० रुपैयाँ तोकिएको छ । यसअघि सानो अण्डा प्रति क्रेट २३०० रुपैयाँ थियो ।
सङ्घले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ।