तनहुँ । देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय पाठ्यक्रम लागू गरेको छ । पालिकाको पहिचान, संस्कृति र भूगोललाई उजागर गर्ने उद्देश्यले गाउँपालिकाले आधारभूत तह (कक्षा १–५ र ६–८) का लागि ‘हाम्रो देवघाट’ पाठ्यक्रम चालु शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याएको जनाएको छ ।
पाठ्यक्रम गाउँपालिकाभित्रका ३५ वटै सामुदायिक विद्यालयमा अध्यापन गराइनेछ । पाठ्यक्रममा देवघाटको ऐतिहासिक तथा धार्मिक महत्व, स्थानीय पर्यटकीय स्थल, जनजीवन, वनस्पति तथा यहाँका जातजातिका संस्कारलाई प्राथमिकताका साथ समेटिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए ।
गाउँपालिकाका प्रवक्ता एवम् वडा ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले शिक्षालाई जीवनोपयोगी बनाउन र देवघाटको समग्र चिनारीलाई शैक्षिक माध्यमबाट प्रवर्द्धन गर्न पाठ्यक्रमले महत्व राख्ने बताए । ‘स्थानीय आवश्यकता र विशेषतालाई समेटेर पाठ्यक्रम तयार गरिएको छ । जसले विद्यार्थीलाई अपनत्व बनाउन प्रेरित गर्नेछ ।’