रसुवा – अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको भन्सार जाँच पास पुन:सञ्चालन भएको छ । अनिवार्य रूपमा एमआरपी हाँस्नुपर्ने नीति तत्काल कार्यान्वयन हुन नसकेपछि पैठारीकर्ताले आफ्नो गोदाम पुर्याएपछि स्टिकर टाँसेर मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै भन्सार जाँच पास हुन थालेको हो ।
गत असार २४ गते गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित ल्हेन्देखोलामा आएको बाढीपछि लामो समयसम्म प्रभावित बनेको रसुवा भन्सार कार्यालय मितेरी पुल निर्माण पश्चात् गत पुस १७ गतेदेखि पुन:सक्रिय रूपमा सञ्चालन हुँदै आएको थियो । करिब पाँच महिनापछि मालसामान आयात गर्दा अनिवार्य एमआरपी टाँस्नुपर्ने नियम कार्यान्वयनमा आएसँगै जाँच पास रोकिएको थियो ।
हाल पैठारीकर्ताले आयात गरिएका सामान गोदाममा पुर्याएपछि एमआरपी स्टिकर टाँस गर्ने सहमति पश्चात् भन्सार प्रक्रिया नियमित रूपमा सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार जाँच पास पुनः सञ्चालन भएसँगै राजस्व संकलन वृद्धि हुन थालेको छ ।
भन्सार कार्यालयका अनुसार दैनिक उपभोग्य सामग्रीको जाँच पास सुरु भएको पहिलो दिन बिहीबार करिब रु. चार करोड ५० लाख राजस्व संकलन भएको छ भने शुक्रबार थप रु. दुई करोड राजस्व संकलन भएको हो । दुई दिनमा करिब रु. छ करोड ५० लाखभन्दा बढी राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिए ।
उपभोक्ताको हित संरक्षणका लागि आयातित वस्तुमा अनिवार्य रूपमा एमआरपी (अधिकतम खुद्रा मूल्य) को स्टिकर टाँस्नुपर्ने व्यवस्था यही वैशाख १५ गतेदेखि भन्सार कार्यालयले कार्यान्वयनमा ल्याएको उनले बताए । उक्त व्यवस्था तत्काल कार्यान्वयनमा समस्या देखिएपछि सरकारले सहजता ल्याउनका लागि सरोकार भएका निकायलाई निर्देशन दिएको थियो ।
सोही निर्देशनपछि आयातकर्ताले आयात गरिएका सामान गोदाममा पुर्याएपछि एमआरपी स्टिकर टाँसेर मात्र बिक्री गर्ने सर्तमा भन्सार जाँच पास पुनः सुरु गरिएको प्रमुख भन्सार अधिकृत भट्टराईले बताए ।
कन्टेनर जाँच पास तीव्र
सुरक्षा निकायका अनुसार पहिलो दिन ३२ वटा र दोस्रो दिन ४१ वटा गरी ७३ मालवाहक कन्टेनर जाँच पास भई गन्तव्यतर्फ पठाइएको छ । तीमध्ये ३७ वटा कन्टेनरले नेपाली बजारका लागि चिनियाँ स्याउ आयात गरेका छन् ।
ती कन्टेनरलाई राजधानी काठमाडौँ पठाइ सकिएको भन्सार कार्यालयका सूचना अधिकारी ठाकुर गौतमले जानकारी दिए । उनका अनुसार हाल १५० भन्दा बढी कन्टेनर भन्सार हाताभित्र छन् । आयातकर्ताले परिमाण घोषणा गरेपछि जाँच पास प्रक्रिया तीव्रताका साथ अघि बढाइएको उनले बताए ।
बाढीको असर अझै बाँकी
गत वर्ष असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले रसुवागढी–टिमुरे क्षेत्रको भन्सार यार्ड (वैदेशिक व्यापारका क्रममा आयात वा निर्यात गरिने मालसामान भन्सार जाँच पास नहुन्जेलसम्म सुरक्षित रूपमा राखिने क्षेत्र), सुक्खा बन्दरगाह र भौतिक संरचनामा क्षति पुर्याएको थियो । बाढीले बनाएको बगर र अवरोध पूर्णरूपमा हट्न नसक्दा भन्सार जाँचमा कठिनाइ कायम रहेको भन्सार अधिकारीले बताएका छन् ।
भन्सार यार्डभित्र रहेका साना प्रिफ्याब (इँट्टा र बालुवाको परम्परागत प्रयोग नगरी कारखानामा पहिले तयार पारिएका प्यानल, ट्रस्ट र पार्टपुर्जा जोडेर बनाइने) भवनको भुइँ सतह नमिलेकाले आयातित सामग्री बगरमा झारेर मूल्यांकन गर्नुपर्ने बाध्यता रहेको भन्सार जाँचका खटिने कर्मचारीको भनाइ छ । उनीहरूले मर्मत तथा पुन:संरचना कार्य पुनरावलोकन गर्न सरोकार भएका निकायलाई आग्रह गरेका छन् ।
सुक्खा बन्दरगाह अझै व्यवस्थित छैन
टिमुरे सुक्खा बन्दरगाहको सफाइ आंशिक भए पनि पूर्ण रूपमा सञ्चालन योग्य बन्न सकेको छैन । बन्दरगाह सञ्चालन तथा मर्मतको जिम्मेवारी पाएको नेपाल इन्टरमोडल प्रालिले पर्याप्त सफाइ गर्न नसक्दा केरूङबाट आएका कन्टेनर व्यवस्थापनमा समस्या भइरहेको भन्सार कार्यालयका सूचना अधिकारी गौतमले जानकारी दिए ।
नेपाल इन्टरमोडलका इञ्जिनियर शोभाकान्त राउतका अनुसार बाढीले पुर्याएको क्षति पूर्णरूपमा हटाउन नसकिए पनि केही सहजता ल्याउने काम गरिएको छ । बाढीबाट क्षति नभएर बाँकी रहेका संरचना यथावत् राख्न निर्माण कम्पनी चिनियाँ तिब्बत फुल्लीले सहमति दिनुपर्ने भएकाले प्रिफ्याब संरचनामा परिवर्तन गर्न नसकिएको उनले बताए । राउतका अनुसार बन्दरगाह प्रवेश तथा प्रस्थान मार्ग सुधार, बगर हटाउनेलगायत काममा करिब रु. २० लाख खर्च गरी अस्थायी व्यवस्थापन गरिएको छ ।
बाढीको इतिहास: ठूलो क्षति
“रसुवामा हिमाली भेगबाट आउने आकस्मिक बाढी नयाँ विषय भने होइन । अघिल्ला वर्षहरूमा पनि भोटेकोशी तथा सहायक खोलामा आएका बाढीले नाका र व्यापारिक संरचना प्रभावित बनाउँदै आएको इतिहास छ । तर गत असारमा ल्हेन्देखोलाबाट आएको बाढी पछिल्ला वर्षकै सबैभन्दा विनाशकारी मानिएको छ”, भन्सार कार्यालयका सूचना अधिकारी गौतमले भने ।
जिल्ला विपद् व्यवस्थापन समितिसँग भएको तथ्याङ्कअनुसार उक्त बाढीले भन्सार यार्डमा मात्रै रु. ९१ करोड २० लाख ९४ हजार २५९ बराबरको क्षति पुर्याएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
व्यापार पुनः चलायमान हुने अपेक्षा
यसैबीच, भन्सार जाँच पास सुस भएसँगै नेपाल–चीन व्यापार पुनः चलायमान हुने, स्थानीय बजारमा उपभोग्य वस्तुको आपूर्ति सहज बन्ने तथा सरकारी राजस्व वृद्धि हुने अपेक्षा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । यहाँस्थित यार्डलाई सहज र व्यवस्थित बनाउन पहल भइरहेको उनले उल्लेख गरे ।
गत असार २४ गतेको बाढीले अवरोध गरेको भन्सार यार्डको दीर्घकालीन समाधानका लागि पूर्वाधारको पुन:निर्माण आवश्यक रहेको सरोकार भएका निकायका प्रतिनिधिले बताउँदै आएका छन् ।