काठमाडौँ । मधेश प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकारबाट जनमत पार्टी बाहिरिएको छ।
संसदीय दलभित्र नेतृत्व परिवर्तनसँगै पार्टीले सरकारप्रति दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
दलका बहुमत सदस्यहरूको निर्णयअनुसार संसदीय दलको नेतृत्व परिवर्तन गरिएको छ। पार्टी अध्यक्ष डा. सिके राउतले पूर्व नेता महेशप्रसाद यादवलाई पदमुक्त गर्दै चन्दनकुमार सिंहलाई नयाँ नेता नियुक्त गरेको जानकारी दिइएको छ।
नवनियुक्त नेता सिंहले प्रदेश प्रमुखसमक्ष पुगेर सरकारप्रतिको समर्थन फिर्ताको औपचारिक जानकारी गराएका छन्।
यस निर्णयसँगै पार्टीले आफ्ना मन्त्रीहरूलाई पदत्याग गर्न निर्देशनसमेत दिएको छ। पार्टी नेतृत्वले सरकारबाट बाहिरिने कदमलाई संगठन र जनहितसँग जोडेर व्याख्या गरेको छ।
अध्यक्ष राउतका अनुसार वर्तमान सरकारको कार्यशैली पार्टीको नीति तथा जनअपेक्षासँग मेल नखाने देखिएको छ। विकास आयोजना कार्यान्वयनमा पारदर्शिता कायम गर्नुपर्ने माग बेवास्ता भएको तथा उपभोक्ता समितिमार्फत हुने काममा विवाद बढ्दै गएकोप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ।
उनले सार्वजनिक खरिद प्रक्रियालाई प्रतिस्पर्धात्मक र पारदर्शी बनाउनुपर्ने प्रस्तावप्रति पर्याप्त ध्यान नदिइएको उल्लेख गर्दै प्रदेश सरकारको कार्यसम्पादनले नकारात्मक सन्देश गएको दाबी गरेका छन्।
साथै, जिल्लास्तरमा सर्वसाधारण र कार्यकर्ताबीच असन्तोष बढ्दै गएको मूल्यांकन पनि पार्टीको रहेको जनाइएको छ।