काठमाडौँ – सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण अभियान अन्तर्गत चाबहिलको साततले क्षेत्रमा निर्माण गरिएका संरचनामाथि डोजर चलाइएको छ ।
सार्वजनिक स्वामित्वको जमिनमा अनुमति विना बनाइएका घर तथा भवन हटाउने कार्ययोजना अनुसार सो क्षेत्रमा पनि कारबाही अघि बढाइएको हो। त्यहाँ निर्माण भएका बहुमंजिला पक्की संरचनासमेत हटाउने प्रक्रियामा परेका छन्।
कारबाहीका क्रममा सुरक्षाकर्मी परिचालन गरी संरचना भत्काउने काम भइरहेको जनाइएको छ। यसअघि पनि थापाथली, गैह्रीगाउँ, मनोहरा, अनामनगर, शंखमुल, बुद्धनगर, टेकु, स्वयम्भू र बालाजु लगायतका विभिन्न स्थानमा यस्तै अभियान सञ्चालन गरिएको छ।
सार्वजनिक सम्पत्तिको संरक्षण र अवैध अतिक्रमण नियन्त्रणलाई लक्षित गर्दै यस्ता गतिविधि निरन्तर अगाडि बढाइने बताइएको छ।