बिराटनगर महानगरपालिका-४ कन्चनवारीबाट नियन्त्रीत लागुऔषध गाँजा सहित २ महिला पक्राउ परेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह (RIT) बाट खटिएको अनुसन्धान टोलीले आज दिउँसो १ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका-९ बस्ने ४० बर्षीया सिता राई र साँगुरीगढी गाउँपालिका-१ बस्ने २० बर्षीया बबिता राईलाई ५ के.जी. ७०० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै महिलालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भईरहेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्र कार्कीका अनुसार महिलाले झोलामा गाँजा बोकेर सुनसरीको पकली हुँदै विराटनगर आएका थिए ।
पक्राउ परेका महिलाहरु सुनसरीको पकलीमा बस्दै आएको खुलेको छ । टेम्पोबाट झरेर पैदल हिँडिरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको कार्कीले बताए । उनका अनुसार पक्राउ परेकाहरुले बोकेको जेब्रा झोलामा पाँचवटा पोका बनाएर राखेको अवस्थामा पाँच किलो सात सय ग्राम गाँजा बरामद भएको छ ।