काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति तथा समृद्धिको आधार निर्माण हुने बताएका छन्।
ललितपुरको नागवहालमा अवस्थित हीरण्यवर्ण महाविहार तारेमाम् सङ्घको हीरक महोत्सवलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शान्ति, सह-अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्ध दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य तथा आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान खेल्ने बताए।
राष्ट्रपति पौडेलले भने, ‘आजको विश्व अनेकन समस्याहरू द्वन्द्व, स्वार्थपरायणता, आदर्शस्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासबाट प्रताडित भइरहेको अवस्थामा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएका छन्।’
राष्ट्रपति पौडेलले बुद्धका उपदेशले मानव जातिलाई सुख, शान्ति र आनन्द दिलाउने भएकाले उक्त ज्ञानको संसारभर प्रचारप्रसार भइरहेको उल्लेख गर्दै शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको बताए।
शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउनेतर्फ ध्यान दिनुपर्ने राष्ट्रपति पौडेलले बताए।
उनले नेपालमा जन्मिएका बोधिसत्व सिद्धार्थ गौतमबुद्धले प्रतिपादन गर्नुभएको बुद्ध धर्म तथा बौद्ध दर्शन विश्वव्यापी रुपमा फैलिएको उल्लेख गर्दै बुद्धले देखाएको चतुआर्य सत्य, प्रतीत्यसमुत्पाद र आर्यअष्टाङ्खीक मार्गले विश्वका सबै प्राणीको दुःखबाट मुक्तिको बाटो देखाएको बताए।