काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) अन्तर्गत आबुधाबीस्थित नेपाली राजदूतावासले दुबईसहितका क्षेत्रमा गैरकानुनी रूपमा सञ्चालन भइरहेको हुन्डी कारोबारबारे निगरानीलाई थप कडाइका साथ अघि बढाएको छ ।
अनौपचारिक विप्रेषण प्रणालीमार्फत हुने यस्ता गतिविधिको विवरण संकलन गरी सम्बन्धित सरकारी निकायमा पठाउने प्रक्रिया दूतावासले नियमित रूपमा सञ्चालन गरिरहेको जनाएको छ ।
सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय सहयोग रोक्ने राष्ट्रिय नीतिअनुसार यस्तो कदम चालिएको हो ।
विदेशमा बसेर कानुनी प्रक्रिया बाहिर रही रकम संकलन गर्ने तथा नेपाल नपठाई हुन्डीमार्फत कारोबार गर्ने व्यक्ति वा समूहबारे प्राप्त सूचनालाई गोप्य रूपमा संकलन गरी परराष्ट्र मन्त्रालयमार्फत नेपालका सम्बन्धित निकायसम्म पुर्याउने व्यवस्था मिलाइएको दूतावासले स्पष्ट पारेको छ ।
यसैबीच, दूतावासले युएईमा कार्यरत सम्पूर्ण नेपालीलाई यस्ता गैरकानुनी वित्तीय क्रियाकलापबाट टाढा रहन आग्रह गरेको छ । साथै, हुन्डी कारोबारमा संलग्न व्यक्ति वा संस्थाबारे प्रमाणसहितको जानकारी उपलब्ध गराई सहयोग गर्न पनि अनुरोध गरिएको छ ।
दूतावासले प्राप्त सूचनाका आधारमा तथ्यांक तयार पारेर आवश्यक कारबाहीका लागि नेपाल सरकारका सम्बन्धित निकायमा पठाउने प्रक्रिया अघि बढाइएको जनाएको छ । यसै उद्देश्यका लागि सूचनादातालाई सहयोग सहज बनाउन विशेष इमेल ठेगाना समेत सार्वजनिक गरिएको दूतावासको भनाइ छ ।
