काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु उत्पादक किसानलाई एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी प्रोत्साहन अनुदान वितरण गर्ने भएको छ ।
उखु किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान रकम वितरण गर्न आवश्यक कार्यविधि स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको एक अर्ब ५० करोड ५० हजार रुपैयाँ बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु उत्पादक किसानलाई वितरण गरिनेछ ।
उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व वृद्धि गर्ने तथा सरकारी अनुदान लक्षित किसानसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले सरकारले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ । उक्त अनुदानले उखु खेतीमा किसानको आकर्षण बढाउनुका साथै उत्पादन लागतको भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।