काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ। पार्टीले विभिन्न संगठनात्मक तथा नीतिगत विषय समेटेर नौ वटा एजेन्डा तय गरेको जनाएको छ।
प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टी गतिविधिबारे विस्तृत ब्रिफिङ तथा केन्द्रीय सदस्यहरूको प्रतिवेदन प्रस्तुत गरिनेछ। यसका लागि २० जना सदस्यलाई प्रत्येकलाई दुई-दुई मिनेटको समय छुट्याइएको छ।
बैठकमा महाधिवेशनसम्बन्धी कार्यविधिको मस्यौदा, पार्टी विधान संशोधन, तथा स्थानीय तहका उम्मेदवार चयनका लागि क्लब गठन र आवेदन प्रक्रिया सुरु गर्ने विषयमा छलफल हुने बताइएको छ।
त्यसैगरी प्रवासमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था, सचिवालयका निर्णयहरूको अनुमोदन तथा विविध शीर्षकअन्तर्गत तीन वटा प्रस्तावमाथि पनि छलफल हुने कार्यसूची रहेको छ।
साथै विभिन्न आयोग तथा निकायबाट प्राप्त पत्राचार, पार्टीका विषयगत विभागहरूको योजना तथा नीति तयारी, र संसदीय दलको विधान संशोधनसम्बन्धी विषय पनि बैठकको कार्यसूचीमा समावेश गरिएको छ।