काठमाडौं नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले भदौ २३ र २४ गतेका घटनासम्बन्धी सरकारले गठन गरेको आयोगको प्रतिवेदनमाथि पार्टीले थप अध्ययन गरिरहेको बताएका छन्।
सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब विस्तृत अध्ययनपछि औपचारिक धारणा सार्वजनिक गरिने बताए।
सरकारले गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन गरेको आयोगले पेस गरेको प्रतिवेदनलाई गम्भीरतापूर्वक समीक्षा गर्न कांग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा विज्ञहरू सम्मिलित एक अध्ययन समिति गठन गरेको थियो।
उक्त समितिले लामो समयसम्म अनुसन्धान, विश्लेषण र अध्ययन गरेर आफ्नो प्रतिवेदन तयार पारेको र सो प्रतिवेदन हाल पार्टीसमक्ष प्रस्तुत भइरहेको उनले बताए।
उनले भने, ‘उक्त प्रतिवेदनमा व्यक्त गरिएका निष्कर्ष र सुझावका आधारमा नेपाली कांग्रेसले आफ्नो धारणा चाँडै सार्वजनिक गर्नेछ।’
अध्ययन समितिले ५२ पेजको लामो बुझाएको छ। उनले पार्टीको सदस्यता व्यवस्थापनलाई व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले पनि महत्त्वपूर्ण काम भइरहेको समेत बताए।
पार्टी अधिवेशनको प्रक्रियामा रहेकाले म्यानुअल प्रणालीमा रहेको सदस्यता व्यवस्थापनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने काम अगाडि बढाइएको उनले बताए।