काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् ।
उनले सिंहदरबारमा पुगेर शुक्रबार आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा पार्टी सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछाने प्रस्तावक छन् भने समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ ।
आज साढे २ बजेदेखि उम्मेदवारको सूची प्रकाशन गरिने छ । दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधि सभाको बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने निर्वाचन तालिका छ ।
बिहीबार रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुखमा अघि सार्ने निर्णय गरेको थियो ।