काठमाडौँ । फागुन २१ को निर्वाचनपछिको प्रतिनिधि सभाको पहिलो बैठकका लागि पाँच बुँदे कार्यसूची निर्धारण गरिएको छ।
बुधबार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको सभा हलमा बसेको सर्वदलीय बैठकले उक्त कार्यसूची तय गरेको हो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रतिनिधिहरू सहभागी थिए।
निर्धारित कार्यसूचीअनुसार बैठकको प्रारम्भमा अधिवेशन आह्वानसम्बन्धी सूचना वाचन गरिनेछ। सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले बैठकको अध्यक्षता गर्ने व्यवस्था गरिएको छ।
पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूबाट सम्बोधन हुने अभ्यासलाई यसपटक पनि निरन्तरता दिइने जनाइएको छ।
त्यसैगरी, सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरिनेछ। सहमतिअनुसार मनोनयन दर्ता चैत २० गते र निर्वाचन चैत २२ गते हुने तय गरिएको छ।
सभामुख निर्वाचनसम्बन्धी प्रक्रिया प्रतिनिधिसभा नियमावली अनुसार सञ्चालन हुनेछ। एक मात्र उम्मेदवार भएमा निर्विरोध घोषणा गरिनेछ भने एकभन्दा बढी उम्मेदवार भएमा प्रस्ताव र समर्थनपछि संक्षिप्त छलफल गरी बहुमतका आधारमा निर्णय गरिने व्यवस्था छ।
यसैबीच, नयाँ नियमावली तयार नहुँदासम्म पुरानै व्यवस्था अनुसार संसदीय कार्य सञ्चालन गर्ने सहमति पनि बैठकमा गरिएको छ, जसलाई प्रतिनिधि सभाबाट अनुमोदन गरिनेछ। साथै, अघिल्लो सरकारले जारी गरेका अध्यादेशहरू टेबुल गर्ने विषय पनि कार्यसूचीमा समावेश गरिएको छ।