काठमाडौँ । संघीय संसद् सचिवालयले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ।
बैठक संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा सञ्चालन भइरहेको छ। यसमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा सचिवालयका अधिकारीहरू सहभागी छन्।
यो बैठक गत फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनपछि पहिलो औपचारिक बैठक हो। संघीय संसदको पहिलो पूर्ण बैठक भने १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठकको आयोजना महासचिव पाण्डेको आह्वानअनुसार प्रतिनिधिसभा बैठक सञ्चालनको पूर्वसन्ध्यामा गरिएको हो।
प्रतिनिधि सभाको आगामी बैठकमा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ। साथै राजनीतिक दलको चाहना अनुसार शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने प्रचलन पनि रहन्छ।
हालको प्रतिनिधि सभामा राष्ट्रिय मान्यता प्राप्त रास्वपा, काँग्रेस, एमाले, नेकपा, श्रमसंस्कृति र राप्रपा गरी ६ दलले प्रतिनिधित्व गरेका छन्। त्यस्तै, स्वतन्त्र सांसद महावीर पुन पनि निर्वाचित छन्।
२७५ सदस्यीय सभामा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ।