काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले उनको पक्राउ पुष्टि गरेका छन्। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
नयाँ सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गरेका थिए।
प्रहरीले सरकारसँग आधिकारिक लिखित आदेश माग गरेपछि कानुनी प्रक्रिया अघि बढाइएको थियो। मध्यरातमा कानुन मन्त्रालयका सचिवलाई नक्सालस्थित प्रहरी मुख्यालयमा बोलाइएको थियो। सहमति ढिला भएपछि कानुनसचिव पाराश्वर ढुंगानालाई समेत त्यहाँ बोलाइएको थियो। अन्ततः लिखित आदेश तयार भएपछि प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गर्दै लेखकसहित सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको हो।
गत भदौ २३ र २४ मा भएको आन्दोलन दमनसम्बन्धी घटनामा आयोगले अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। उक्त प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको छ।
आयोगले मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अनुसार लापरबाही तथा हेलचेक्र्याइँका कारण ज्यान गएको कसुरमा कारबाही सिफारिस गरेको उल्लेख गरेको छ।