काठमाडौँ — विशेष राजनीतिक अवस्थाका कारण यस वर्ष देशले तीन जना प्रधानमन्त्री पाएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आजदेखि प्रधानमन्त्री बनेका छन्। निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भने आजबाट पदमुक्त भएकी छन्।
भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र सामाजिक सञ्जालको नियमित सञ्चालनको मागसहित भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।
त्यसपछि भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी निर्वाचन मिति घोषणा गरेका थिए।
निर्वाचनमा रास्वपाले १८२ सिट जितेको छ। संविधानको धारा ७६ (१) अनुसार गठन भएको वर्तमान सरकारसँग भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र प्रभावकारी सेवा प्रवाह गर्ने विषयमा जनताको उच्च अपेक्षा रहेको छ।