काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री नियुक्ति प्रक्रिया अझै अन्तिम अवस्थामा नपुगेको भन्दै सांसदहरूलाई यस विषयमा मिडियामा अनुमान वा दबाब सिर्जना नगर्न निर्देशन दिएका छन्।
पार्टीका सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै उनले भने, “अहिलेसम्म क–कसलाई मन्त्री बनाउने भन्ने निर्णय भएको छैन। पार्टीले आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र निर्णय हुनेछ।”
लामिछानेले प्रत्येक सांसदको क्षमता, दक्षता र संगठनमा योगदान मूल्यांकन गरेर मात्रै निर्णय गरिने बताए। उनले पूर्वनिर्धारित सुझाव वा दबाब आवश्यक नरहेको पनि स्पष्ट पारे।
साथै उनले आफू लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्ध रहेको, संविधान र वर्तमान व्यवस्थामा विश्वास कायम रहेको र आवश्यक सुधारहरू समयअनुसार लागू गरिने बताए।