काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वी क्षेत्रमा भइरहेको द्वन्द्वका कारण देशभित्र महँगीको जोखिम बढ्न सक्ने बताउँदै पेट्रोलियम पदार्थमा अस्थायी सहुलियत दिन सरकारसँग अनुरोध गरेका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो सन्देशमा उनले इन्धनको मूल्यवृद्धिले मात्र यातायातको क्षेत्रमा होइन, दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा पनि ठूलो असर पार्ने सम्भावना रहेको बताए। यसले सर्वसाधारणको जीवनयापनमा प्रत्यक्ष असर पारिरहेको उनले चिन्ता व्यक्त गरे।
पौडेलका अनुसार, अहिलेको परिस्थिति केही समयसम्म कायम रहन सक्ने संकेत देखिएका कारण मूल्य स्थिर राख्न सरकारको हस्तक्षेप अपरिहार्य भएको उल्लेख गर्दै उनले पेट्रोलियम पदार्थमा केही समयको लागि सहुलियत दिनुपर्ने आवश्यकता व्यक्त गरे।
साथै, उनले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रवर्द्धन गर्न सरकारलाई आग्रह गर्दै एलपी ग्यासको स्थानमा विद्युतीय उपकरण (जस्तै इन्डक्सन) को प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे। वैकल्पिक ऊर्जाबाट चल्ने सवारी साधनको प्रयोगलाई बढावा दिँदा इन्धनको खपत घटाउन सकिने उनको भनाइ थियो।
बजारमा सम्भावित कालोबजारी नियन्त्रण गर्नका लागि प्रभावकारी निगरानी र अनुगमनको आवश्यकता पनि उनले औँल्याए। उपभोक्तालाई अनावश्यक दबाबमा पार्ने गतिविधिहरूलाई रोक्न सरकारलाई सक्रिय हुनुपर्ने आवश्यकता उनले औंल्याए।
अन्त्यमा, उनले सरकारले सम्भावित चुनौतीहरूलाई पूर्वानुमान गर्दै जनजीवनलाई सहज बनाउन योजनाबद्ध कार्यक्रमहरूको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।