काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी नेतृत्वको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन् । उनी रास्वपा परित्याग गरेसँगै कांग्रेस फर्किएका छन् । रास्वपा मकवानपुरको संस्थापक सभापतिसमेत रहेका उनलाई कांग्रेस सभापति गगन थापाले सर्लाही– ४ बाट पार्टीमा स्वागत गरेको कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठकले जानकारी दिए । उनीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर २ का चुनावी संयोजक नीराजन बर्तौला कांग्रेस फर्किएका छन् ।
गत ०७९ को निर्वाचनमा रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका उनी १२ हजार ५९ मतसहित तेस्रो भएका थिए । रास्वपा परित्याग गरेका पराजुलीले वर्तमान नेतृत्वले रास्वपाले स्थापनाकालमा ल्याएको युवा राजनीतिमा र जान्नेलाई छान्ने, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता लत्याएको आरोप लगाएका छन् । यस्तै, उनले पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्यमान्यता, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएपछि बाध्य भएर पार्टी छोड्नुपरेको दाबी गरेका छन् ।
संगठनमा समर्पित नेता–कार्यकर्ताको उचित मूल्यांकन नभएको, पार्टीमा विधि–विधानविपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न खडा गरेको पराजुलीको भनाइ छ । यस्तो परिस्थितिमा मौन रहन नसक्ने निष्कर्षसहित पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेको उनले बताएका छन् ।