प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि दौडधुप सुरु भएको छ । फागुन ७ देखि १० गतेसम्म गर्ने भनिएको महाधिवेश तोकिएकै समयमा हुनेमा आशंका भए पनि नेताहरुको दौडधुप भने सुरु गरेका छन् । आसन्न महाधिवेशनमा सभापतिका लागि सबैभन्दा धेरै आकांक्षी देखिएका छन् । आफ्नो पक्षमा जनमत सिर्जना गर्न नेताहरु गुट भेलादेखि कोठे बैठकसम्म गरिरहेका छन्। नेताहरु महाधिवेशनको तयारी र आ-आफ्नो रणनीति बनाइरहेका छन् । शीर्ष नेताहरु अन्य नेताहरुलाई आफ्नो गुटमा ल्याउन कस्सिएर लागेका छन् । सभापतिका लागि दिनरात दौडधुपमा लाग्ने करिब दर्जन हाराहारीका नेताहरुमा एउटा समानता भने छ । सबै पाका अनुहार ! बुढा अनुहार !
अहिले सभापतिको दौडमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला अग्रपंक्तिमा छन् । यी तीन गुटको नेतृत्व गर्ने तीनै जना नेताहरू आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न तम्सिएका छन् ।
तीन गुटका तीन जना मात्रै होइन सभापतिको दौडमा अरु पनि थुप्रै नेताहरु छन् । शशांक कोइराला, विमलेन्द्र निधी, शेखर कोइराला, प्रकाशमान सिंह, गगनकुमार थापा डा. रामशरण महतलगायत पनि सभापतिकै दोडमा छन् । सभापतिका आकांक्षीको यो सूची अझैं लामो जान सक्छ । सूची जति लामो भए पनि गगन थापालाई अपवाद मान्ने हो भने सभापतिका आकांक्षीमा पहिलो पुस्ताकै नेता छन् । थापा सभापतिका पक्का उम्मेद्वार पनि होइनन् । कांग्रेसकै नेताहरुका अनुसार उनी सभापतिका लागि आकांक्षी देखाए पनि महामन्त्रीका लागि बलियो उम्मेदवार हुन्।
हुनत अन्तिमसम्म सबै सभापतिकै उम्मेद्वार नबन्लान् । तर वर्तमान सभापति देउवा वरिष्ठ नेता पौडेल, सिटौला र कोइराला परिवारबाट एक जना वा अन्य एक जनासम्म हुनसक्छन् । यी सबै पहिलो पुस्ताकै नेता हुन् । सभापति देउवाले एक कार्यकाल खाइसकेका छन् भने पौडेल पनि पुरानै नेता हुन् । पारिवारिक बिरासत बोकेका कोइराला परिवारका नेता पनि पुरानै अनुहार हुन् ।
पहिलो पुस्ताका नेताहरुको सभापतिमा ‘रेस’ सम्भवतः यो नै अन्तिम पटक हुने देखिन्छ । १५औं महाधिवेशनमा त दोस्रो पुस्ताका नेताहरूले हस्तक्षेप गर्नेछन्। उनीहरू आन्तरिक तयारीमा जुटिसकेका छन्।
युवालाई हारगुहार
पुराना पुस्ताका नेताहरुले आफू सभापति बन्न दोस्रो पुस्ताका नेतालाई साथ लिनुको विकल्प छैन । सभापतिका आकांक्षी पहिलो पुस्ताका नेता सम्भवतः यो पटकलाई मात्रै उम्मेद्वार हुन् । १५औं महाधिवेसनमा युवा पुस्ताले हस्तक्षेप गर्ने निश्चित छ । तसर्थ उनीहरु युवा पुस्तालाई मनाउन व्यस्त छन्।
वर्तमान नेतृत्वप्रति कार्यकर्ताको भरोसा गुम्दै गएको बताउँने दोस्रो पुस्ताका नेताहरुले यसपटक हस्तक्षेप गर्न सकेनन् तर अर्को पटकका लागि भने उनीहरुले आन्तरिक तयारी थालेको बुझिएको छ ।
सभापति देउवालाई पार्टी उपसभापति विमलेन्द्र निधिले सभापति पदकै लागि उम्मेदवारी दिए समस्या हुने् देखिन्छ । निधिले पनि आफू सभापतिको उम्मेद्वार भएको सार्वजनिक गरिसकेका छन् । उनी निधिलाई मनाउन व्यस्त छन् ।
कुनै समय देउवाबाटै २३ वर्षकै उमेरमा नेपाल विद्यार्थी संघको नेतृत्व खोसेका निधि लामो समय उनै देउवाको गुटमा रहे । तर अहिले भने देउवाले उनलाई सभापतिमा साथ दिन आग्रह गरिरहेका छन् । यसपाली निधिले ब्याक हुने संकेत नदिए सबैभन्दा ठूलो धक्का देउवालाई नै हुने छ ।
निधिले उम्मेदवारी दिए देउवाले अर्को विकल्प पनि हेरेका छन् । शशांकको टिम समात्ने । उनी शशांकसँग पनि गम्भीर छलफलमा छन् । देउवा मात्रै होइन अरु नेताहरु पनि गुट निर्माण गरी जनमत निर्माणमै व्यस्त छन् । उनीहरुले दोस्रो पुस्ताका नेताहरुसँग विभिन्न ढंगले आन्तरिक छलफल थालेका छन् । युवालाई मनाउन तल्लीन छन्।
युवाहरु के गर्दैछन्?
कांग्रेसमा सभापतिका लागि गगन थापाले आकांक्षा देखाएको बाहेक अरु खुलेर कोही आएका छैनन् । उनी पनि अन्तिमसम्म के गर्छन् हेर्न बाँकी छ । तर युवा नेताहरु यसपालि कतै नलाग्ने मनसायमा छन् । उनीहरु १५ औं महाधिवेशनका लागि आन्तरिक तयारीमा रहेको भने प्रष्ट छ । यो महाधिवेशनमा चान्स गुमाए १५ औँ महाधिवेशनमा त गगन, प्रदीप पौडेल पुस्ताले पूरै हस्तक्षेप गर्नेछन् । थापाले १३औँ महाधिवेशनमा आफूले महामन्त्री पदमा उम्मेदवारी दिएकाले नै अहिले युवाहरुलाई बाटो खुलेको बताउँदै आएका छन् । अहिले सभापति लड्न चाहने शीर्ष नेताहरुले एजेण्डा प्रस्तुत गर्नै नसकेको पनि युवा नेताहरुको निष्कर्ष छ।
गगन मात्रै होइन, आगामी महाधिवेशनमा प्रभाव राख्ने कांग्रेसका थुप्रै युवा नेताहरु छन् । १५औं महाधिवेशनमा चन्द्र भण्डारी सहितका एक दर्जन बढीको समूह छ । उक्त समूहमा थापा र भण्डारीसहित कमला पन्त, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव, किरण यादव, विश्वप्रकाश शर्मा लगायत छन् । उनीहरु पनि आगामी रणनीतिका लागि आन्तरिक छलफलमा छन् । अहिलेको महाधिवेशनमा बुढाहरुको सभापतिवाला रेस युवा नेताहरुलाई रमिताजस्तै भएको छ।