काठमाडौं– काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषण घटेको छ ।
ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजनिक बिदा रहेको छ । मङ्गलबार दिउँसो १ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) १९१ पुगेको थियो भने आज सोही समयमा घटेर ११४ मा झरेको हो ।
एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार मङ्गलबार काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर भएको थियो । आज भने काठमाडौँ १४ औँ स्थानमा झरेको छ । हाल पाकिस्तानको लाहोर १९३ एक्युआईसहित पहिलो र सेनेगलको राजधानी डकार १९२ एक्युआईसहित दोस्रो स्थानमा रहेका छन् ।
वातावरणविद्का अनुसार वायु प्रदूषण बढ्नुमा यातायात क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ । एक्युआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ (हरियो सङ्केत), ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ (पहेँलो सङ्केत) मानिन्छ । १०१ देखि १५० सम्म ‘अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी श्वासप्रश्वास र मुटु रोगीलाई असर गर्न सक्छ । १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।
काठमाडौं उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा माथि पुगेको अवस्थालाई सरकारले विपद्का रूपमा मान्ने व्यवस्था गरेको छ । यस्तो अवस्थामा फोहोर जलाउने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुम प्रयोग बढाउने, र बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने प्रावधान छ ।
राष्ट्रिय वातावरण नीति, २०७६ ले वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि तथा अन्य जोखिमपूर्ण प्रदूषण नियन्त्रणसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने रणनीति अघि सारेको छ । साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषण जोखिमयुक्त स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नियमित अनुगमन गर्ने उल्लेख गरिएको छ ।