सुदुरपश्चिमको बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बिहीबार बेलुकी बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि ३४ जना घाइते भएका छन् ।
दुर्घटनामा केशवराज जोशी, अशोकराज जोशी, वसन्त जोशी, विष्णुदत्त जोशी, नरेशराज जोशी, मोहनदेव भट्ट, वसन्तराज रतला, पुष्पा अवस्थी, विसनदत्त जोशी, दिपकराज जोशी, किसनदत्त जोशी, केशवराज भट्ट र सुशिल जोशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले जानकारी दिएका छन् ।
दुर्घटनाका घाइतेहरुको स्थानीय अस्पताल, जिल्ला अस्पताल र डडेलधुरामा उपचार भैरहेको छ । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।