काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रियामा आफूले कुनै पदको लेनदेन वा बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्।
शनिबार काठमाडौँमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले रास्वपासँग एकता गर्दा रवि लामिछानेलाई सभापति र बालेन साहलाई वरिष्ठ नेताका रूपमा स्वीकार गरेको उल्लेख गरे। पदको विषयलाई लिएर सम्झौता गरिएको भन्ने आरोप तथ्यहीन रहेको उनको भनाइ थियो।
उनका अनुसार पार्टी व्यवस्थापनसम्बन्धी विषयमा छलफल भइरहेकै बेला रास्वपाको शीर्ष तहबाट एकता भंग भएको जानकारी आएको थियो। सो समयमा समानुपातिक तर्फ उम्मेदवार छनोटमा उज्यालो नेपाल पार्टीले उल्लेखनीय त्याग गरेको दाबी गर्दै उनले प्रत्यक्ष निर्वाचनतर्फ भने आफ्ना तर्फबाट केही बढी उम्मेदवार अघि सार्ने प्रस्ताव गरिएको बताए।
अध्यक्ष घिसिङले प्रत्यक्ष उम्मेदवारीका विषयमा छलफल अघि बढाउँदा रास्वपाले एकता तोड्ने निर्णय गरेको बताएर आफू त्यसप्रति आश्चर्यचकित भएको धारणा व्यक्त गरे। साथै, रास्वपालाई एकता भंग गर्न बाह्य दबाब परेको हुनसक्ने सम्भावनालाई उनले अस्वीकार नगरेको संकेत गरे।
उनले आगामी निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले संगठनात्मक र रणनीतिक तयारी अघि नै मजबुत बनाइसकेको जानकारी पनि दिएका छन्।