राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले ग्रामीण क्षेत्रको विकासमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘ग्रामीण अर्थतन्त्रबारे छलफल’मा श्रेष्ठले स्थानीय सरकार स्थायी सरकार भएकाले ग्रामीण क्षेत्रको विकासमा उक्त सरकारको महत्वपूर्ण भूमिका रहने बताएका हुन् ।
“स्थानीय सरकारले ग्रामीण विकासमा ‘डेलिभरी’ दिन सक्छ, राष्ट्रिय योजना आयोगले पछाडि परेका स्थानीय सरकारलाई समपुरक बजेट प्रदान गर्दै पिछडिएको बस्तीको विकासमा काम गरिरहेको छ”, उनले भने । श्रेष्ठले उहाँले विसं २०४६ को राजनीतिक परिवर्तनपछि ग्रामीण क्षेत्रको विकासले गति लिन थाले पनि माओवादी द्वन्द्वकालका कारण गाउँहरु उजाड हुँदै गएको उल्लेख गरे । ग्रामीण विकासका लागि सङ्घीयता महत्वपूर्ण कडी भएको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै महालेखा नियन्त्रक शोभाकान्त पौडेलले हाल मुलुकको जनसाङ्ख्यिक लाभलाई लिएर मुलुकको विकासमा लाग्नुपर्ने धारणा राखे । प्रत्येक वर्ष एक खर्ब ७४ अर्ब रुपैयाँ सङ्घीयतामा खर्च भए पनि त्यसको प्रतिफल सोचेजस्तो हुन नसकेको बताए ।
संविधानसभा सदस्य डा खिमलाल देवकोटाले सङ्घीयताको विकासले ग्रामीण क्षेक्रमा शत्तिको बाँडफाँट, स्थानीय शासन सुदृढ, पूर्वाधार विकास, वित्तीय हस्तान्तरण, कृषि आधुनिकीकरण, सामाजिक समावेशिकरण, आर्थिक विकासमा सहयोग पुगेको बताए । महिला अधिकारकर्मी भारती सिलवालले ग्रामीण अर्थतन्त्रको विकासमा महिलाको ठूलो भूमिका रहेको उल्लेख गरिन् ।
२००६ को हलो क्रान्तिका नायक एवम् पूर्व सांसद समेत रहेका श्रीकान्त अधिकारीको यस वर्ष जन्म शताब्दी रहेको छ । स्वर्गीय अधिकारीले लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गरेका थिए । लमजुङको दुराडाँडामा जन्मिएपनि मुलुककै सामाजिक, आर्थिक र राजनीतिक विकासमा ठूलो भूमिका खेलेका थिए । अधिकारी विसं २०१५ मा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सांसद बनेका थिए ।
जन्म सताब्दीकै अवसरमा प्रतिस्ठानले आगामी २३ गते पोखराको पचभैयास्थित सामुदायीक विद्यालयमा समेत कार्यक्रमको आयोजना गरेको छ । यसका अलाबा थप विविध कार्यक्रम आयोजना गरी श्रीकान्त अधिकारीको जन्म शताब्दी मनाइने प्रतिष्ठानकी अध्यक्ष गायत्री अधिकारीले जानकारी दिएकी छन् । विसं १९८४ जेठ १३ गते जन्मिएका अधिकारीको विसं २०६९ कात्तिक ३० मा निधन भएपछि उनको उहाँको सम्झनामा २०७३ फागुन ९ गते दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान स्थापना गरीएको थियो ।