काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सकेसम्म नियमित महाधिवेशन नै सम्भव बनाउनुपर्ने बताएका छन् ।
शुक्रबारको कार्यसम्पादन समितिको बैठकमा आफ्ना धारणा राख्दै उनले नियमित महाधिवेशन सम्भव नहुने हुँदा मात्रै विशेष महाधिवेशन नै गर्नुपर्ने बताएका छन् ।
‘अझै पनि नियमित महाधिवेशन गर्न सकिन्छ भन्ने थोरै सम्भावना बाँकी छ,’ शर्माले बैठकमा भने, ‘तर त्यसका लागि नियमित महाधिवेशनको कार्यतालिका हेरफेर गरेर १५ औँ महाधिवेशन सम्भव बनाऔँ ।’
त्यसका लागि अविलम्ब कार्यतालिका हेरफेर गर्नुपर्ने पनि बताए ।
‘तर अविलम्ब कार्यतालिका हेरफेर गर्दै, नियमित महाधिवेशन सम्भव बनाउन सकिन्न भने तत्कालै विशेष महाधिवेशनको प्रक्रिया थालनी गरौँ,’ उनले बैठकमा भनेका छन् ।
पार्टी कार्यालयमा विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन आह्वान गर्दै स्मृति पत्र दर्ता गराएका थिए ।