काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापालाई पार्टीमा आफ्नो जिम्मेवारी ख्याल गर्न सुझाएका छन्।
कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापालाई आफ्नो जिम्मेवारी भुलेर अतिरञ्जित हुने गरी प्रस्तुत नहुन आग्रह गरेका छन्।
उनले गगनलाई भने, ‘उहाँ पार्टीको महामन्त्री हुनुहुन्छ उहाँबाट पार्टीका सबै साथीहरूले जिम्मेवारीको अपेक्षा गर्छन्। त्यसैले कुनै विषयलाई पनि हामीले अतिरञ्जित गर्ने गरी सार्वजनिक गर्न हुँदैन। अहिले कसैलाई दोष दिने कुरा छैन।’
हिजो महामन्त्री गगन थापाले सभापति देउवाले कार्यवाहक दिए पनि शक्ति आफैँ प्रयोग गरिरहेको भन्दै देउवामाथि असन्तुष्टि जनाएका थिए।
त्यसबारे महतले जवाफ फर्काउँदै भने, ‘सभापतिले कार्यवाहक दिएर बैठक सञ्चालनको जिम्मेवारी दिनुभएको छ। पार्टीको काम गर्ने, महाधिवेशनको काम अघि बढाउने जिम्मेवारी दिनुभएको छ। महामन्त्रीलाई त झन् क्रियाशील सदस्यता व्यवस्थापनको जिम्मेवारी दिनुभएको छ। त्यसैले एक अर्कालाई दोषारोपण गर्नुभन्दा पनि आफ्नो जिम्मेवारीको काम कति गर्न सक्यौँ त्यो ख्याल गर्नुपर्छ।’
उनले कार्यतालिका अनुसार महाधिवेशनको काम हुन नसकेको बताए। क्रियाशील सदस्यताको विषय अहिलेसम्म नटुंगीएको भन्दै त्यसलाई टुङ्ग्याउनुपर्ने बताए। क्रियाशील सदस्यताको विषय नटुंगी महाधिवेशनको प्रक्रिया अघि नबढ्ने उनको भनाइ छ।