काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता वर्षमान पुनले यस्तो आग्रह गरिएको जानकारी गराए । सरकारद्वारा गठित संवाद समितिलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पार्टीको पूर्ण समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको पनि उनले बताए ।
यही अवस्थामा निर्वाचनमा सहभागी हुन नेकपालाई कुनै समस्या नभए पनि केही राजनीतिक दलहरूले शान्ति–सुरक्षासम्बन्धी गुनासो राखेको राखेको भन्दै ती विषयहरूलाई सम्बोधन गर्न समेत आग्रह गरिएको पुनले जानकारी गराए ।
‘घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने कुरामा हाम्रो समर्थन छ, सहयोग छ । त्यो कुरामा सरकारले समेत खुशी र धन्यावाद व्यक्त गर्यो । र संयोजक कमरेड प्रचण्डले घोषित मितिमा निर्वाचन होस् । सरकारको प्रतिबद्धता त्यसमा स्पष्ट छ, हाम्रो समेत त्यसमा समर्थन छ । जति सकिन्छ जनताको तहमा राजनीतिक दलहरूसँग संवाद गरेर शान्तिपूर्ण रूपले चुनावमा सहभागी हुने वातावरण बनाउनुहोस् भन्ने आग्रह गर्नुभयो,’ उनले भने ।
विगतमा मुलुकमा राजनीतिक संकट आउँदा दलहरूलाई एक ठाउँमा ल्याउन भूमिका खेलेको भन्दै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउन पहल गरिदिन समेत सरकारको तर्फबाट आग्रह गरिएको बताए ।
‘हाम्रो लागि कुनै समस्या नभए पनि अन्य दलहरूले शान्ति सुरक्षाको विषयलाई लिएर कतिपय गुनासाहरू रहेका छन् । ती गुनासाहरूलाई सम्बोधन गर्नुहोस् भन्ने कुराहरू राख्नुभयो । विगतमा समेत मुलुकमा राजनीतिक संकट आउँदा दलहरूलाई एक ठाउँमा ल्याउने कुरामा भूमिका खेलेको उल्लेख गर्दै उहाँहरूले राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउने अपेक्षा समेत राख्नुभयो,’ उनले भने ।