काठमाडौँ। साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि आज नेपालको लिग च्याम्पियन टोली एपीएफले भारतको लिग च्याम्पियन इस्ट बंगलासँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।
दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो । जसमा नेपाल र भारतसहित दक्षिण एसियाका पाँच राष्ट्रका क्लबहरुले प्रतिस्पर्धा गरेका थिए । त्यसमा नेपालको एपीएफ र भारतको इस्ट बंगला शीर्ष दुई स्थानमा रहेर फाइनल पुगेको हो ।
नेपालको महिला फुटबल टिमले अहिलेसम्म धेरै पटक फाइनल खेले पनि उपाधि जित्न सकेको छैन ।
यस पटक घरेलु मैदानमा भएपनि एपीफमा सावित्रा भण्डारी, प्रिती राई र एन्जिला तुम्बापो सुब्बा जस्ता खेलाडी छैनन् । यस्तै सबिता राना मगर चोटका कारण खेल्न पाएकी छैनन् ।
मुख्य प्रशिक्षक जिवेश कुमार पाण्डेले मुख्य खेलाडीहरू नभए पनि फाइनलमा उपाधि जित्नकै लागि खेल्ने बताएका छन् ।
इस्ट बंगाल र एपीएफ क्लब हालसम्म अपराजित छन् । दुवैले फाइनलसम्म आइपुग्दा कुनै गोल समेत कन्सिड गरेका छैनन् ।
इस्ट बंगालले लिग चरणमा चार मध्ये तीन खेल जितेको थियो भने एक खेल बराबरी खेलेको थियो । यता एपीएफले दुई खेल जित्दा दुई खेल बराबरी खेलेको थियो ।
एपीएफ र इस्ट बंगाल फाइनलअघि आफ्नो अन्तिम लिग खेलका भिडेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।
फाइनलसम्म आइपुग्दा इस्ट बंगाल बलियो टोलीको रूपमा देखिएको छ । यद्यपि एपीएफलाई घरेलु मैदानको र दर्शको एडभान्टेज छ ।
इस्ट बंगालले लिग चरणमा ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीलाई ४-० ले पराजित गर्दै प्रतियोगिता सुरुवात गरेको थियो । त्यसपछि कराची सिटी एफसीलाई २-० र नसरिन स्पोर्ट्स एकेडेमीलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।
यस्तै एपीएफले पहिलो खेलमै नसरिन स्पोर्ट एकेडेमीलाई ४-० ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । तर त्यसपछि ट्रान्सपोर्ट युनाइटेड लेडिजसँग गोलरहित बराबरीमा रोकियो । तेस्रो खेलमा कराची सिटी एफसीलाई १-० ले पराजित गरेको थियो ।