काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले आज युवा भेला आह्वान गरेको छ । विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले आज नयाँ बानेश्वरमा युवा भेला गर्न लागेको हो ।
विशेष महाधिवेशन पक्षधरले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका पोस्टअनुसार युवा भेला शुक्रबार साढे १२ बजेबाट नयाँ बानेश्वरस्थित थापागाउँको एक ब्यांक्वेटमा सुरु हुनेछ ।
उनीहरूले बिहीबार थापागाउँमै महिला भेला आयोजना गरेका थिए । विशेष महाधिवेशन पक्षधरले २९ असोजमा १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो ।
ठीक एक महिनाअघि २८ असोजबाट सुरु भएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको तिथिमितिबारे विवाद छ । संस्थापन पक्षले २१ फागुनका लागि तय भएको निर्वाचनपछि मात्रै महाधिवेशन गर्नपर्ने बताइरहेको छ ।
काँग्रेसको संस्थापन इतर समूह भने निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ । आगामी पुसमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने इतर समूहको तर्क छ ।
केन्द्रीय कार्यसमिति बैठकमा बिहीबारदेखि नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । अर्को बैठक शनिबार दिउँसो २ बजे बस्नेछ ।
