प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान बालुवाटरमा आफू निकटका मन्त्रिहरुलाई बोलाएर बैठक सम्पन्न गरेका छन् ।
करिब २ घण्टा चलेको बैठकमा प्रधानमन्त्रीले ‘तपाईंहरूले मलाई सहयोग गरिदिनुपर्यो, राष्ट्रियता र मेरा पक्षमा बोलिदिनुपर्यो’ भन्दै सहयोग मागेको छलफलमा सहभागी एक नेताले बताए ।
यद्यपि छलफलमा सहभागी भएका मन्त्री तथा स्थायी कमिटीका अधिकांश सदस्यहरुले भने सरकार र पार्टीलाई नयाँ र रचनात्मक ढङ्गले सञ्चालन गराउनुपर्ने, आलोचना सुनेर सच्चिएर अघि बढ्नुपर्ने लगायत परामर्श दिएको बताइएको छ ।
नेकपा अध्यक्ष समेत रहेका ओलीले आफ्नै पार्टीबाट चौतर्फी घेरामा परेपछि समर्थन जुटाउन मन्त्रिमण्डलका सदस्यहरुसहित पार्टीका आफू निकट स्थायी कमिटी सदस्यहरुसँग बुधबार बिहान बालुवाटारमा परामर्श गरेका हुन् ।
प्रधानमन्त्रीले मन्त्रीहरु र २ जना मुख्यमन्त्रीसहित १८ जनालाई परामर्शका लागि बोलाएको बालुवाटार स्रोत बताउँछ । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका मन्त्रीहरुलाई भने उक्त भेलामा बोलाइएको थिएन । तापनि पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा, लेखराज भट्ट लगायत केही नेताहरु भने बैठकमा सहभागी भएको बताइएको छ ।
स्रोतका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखेरल, गृहमन्त्री रहेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठलगायत १८ सदस्य सहभागी थिए भने जलस्रोत तथा ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बोलाइएको थिएन ।