
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले कम्युनिस्ट एकता आजको ऐतिहासिक आवश्यकता भए पनि स्पष्ट सैद्धान्तिक र संगठनात्मक आधार निर्माण नभई एकता सम्भव नहुने बताएका छन्।
बुधबार बसेको पार्टीको तेस्रो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले मुलुक संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको र लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता तथा सात दशकको संघर्षबाट प्राप्त उपलब्धिहरू गुम्ने खतरा मौजुदा रहेको चेतावनी दिए।
उनले राजनीतिक दलहरू माथिको बढ्दो आक्रमणलाई गम्भीर चुनौतीको रूपमा चित्रण गर्दै त्यसका विरुद्ध सबै वाम तथा प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। “संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय हितको रक्षा हाम्रो साझा जिम्मेवारी हो,” उनले भने।
प्रतिवेदनमा संविधान र जनअधिकारको संरक्षणका लागि सहकार्य र आवश्यक परे संघर्ष गर्नुपर्ने धारणा राखिएको छ। साथै, आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सरकार र सरोकारवालालाई अध्यक्ष नेपालले आग्रह गरेका छन्।
समाजवादी मोर्चाको भूमिकाबारे बोल्दै उनले विभिन्न आन्दोलन र अभियानमा मोर्चाले देखाएको सक्रियता र योगदानको प्रशंसा गरे। उनले वाम एकता केवल नारा नभई साझा मार्गदर्शक सिद्धान्त, कार्यक्रम, संगठनात्मक संरचना र रणनीतिमा सहमति भएपछि मात्र सम्भव हुने स्पष्ट पारे।
उनले भने, “समाजवादी क्रान्ति सम्पन्न गर्न बलियो क्रान्तिकारी शक्तिको आवश्यकता छ, र त्यो यहाँका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको एकताबाटै बन्न सक्छ। तर यी सिद्धान्तहरू छाडेर कुनै पनि एकता सम्भव छैन।”
प्रतिवेदनमा माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त, वैज्ञानिक समाजवादलाई लक्ष्य, र दलाल पूँजीवादी संरचनाविरुद्धको संघर्षलाई मुख्य कार्यदिशा बनाउँदै राष्ट्रको स्वतन्त्रता र जनअधिकारका पक्षमा दृढ प्रतिबद्धता प्रकट गरिएको छ।