काठमाडौँ । जनमत पार्टीले मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ ।
केन्द्रीय उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले बिहीबार पत्र लेखेर तीन दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध गरेका छन् ।
मधेश प्रदेश संसदीय दलले सरकारमाथि विश्वास नरहेको र बाहिरिने निर्णय गर्दा समेत सिंह पदमा रहेको पत्रमा लेखिएको छ ।
‘मुख्यमन्त्री सहितका आफ्नो पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरी मुख्यमन्त्री सहित मन्त्रीहरूलाई मधेश प्रदेश सरकारबाट राजीनामा दिन निर्देशन दिएको र तपाईँ स्वयं फेसबुक मार्फतबाट राजीनामा दिएकोमा सो को समेत अवहेलना गर्दै तपाईँले मुख्यमन्त्री पदबाट राजीनामा नदिएको’ भन्दै स्पष्टीकरण सोधिएको छ ।
अरू पार्टीहरूसँग साँठगाँठ गरी पार्टीको हित विपरितका गतिविधिमा संलग्न भएको, पार्टीमा आघात हुने गरी कार्य गरेको, पार्टीको छविलाई आँच पुर्याएको हुँदा स्पष्टीकरण सोधेको अनुशासन समितिले जनाएको छ ।
सिंहलाई कारबाही गर्ने चेतावनी सहित अनुशासन समितिको पत्रमा भनिएको छ,‘तपाईँलाई पार्टीको संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनु पर्ने हो ३ दिन भित्रमा स्पष्टीकरण पेश गर्नु हुन अनुरोध छ ।’