
काठमाडौं । नेपाल र बंगलादेशबीच आयोजना हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुमानित बजेट एक करोड २७ लाख बिनियोजन गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै एन्फा प्रवक्ता सुरेश शाहले दुई खेलको लागि एक करोड २७ ५८ हजार १६८ रुपैया (९३८१० अमेरिकी डलर) रहेको बतायो ।
नेपाल र बंगलादेशबीचको फिफा विन्डोको खेल भदौं २१ र २४ गते हुने प्रवक्ता शाहले बताएका छन् । यो खेलको नतिजाअनुसार फिफा वरियता पनि हेरफेर हुनेछ ।
एन्फाले यो खेलको लागि तयारी तीव्ररूपमा अगाडि बढेको पनि जनाएको छ । यस्तै, दुवै खेलहरूको टिकटिङ अधिकार एन्फाकै स्वामित्वमा रहने पनि प्रवक्ता शाहले बताएका छन् । एन्फाले भिआइपी पारापिट तर्फको एक हजार तथा सामान्य पारापिट तर्फ ५०० टिकट दर निर्धारण गरेको छ ।
नेपालसँग खेल्न बङ्गलादेशको राष्ट्रिय टोली सेप्टेम्बर ३ तारिखमा नेपाल आइपुग्ने छ । टोलीलाई अभ्यासका लागि भद्रकाली स्थित नेपाली सेनाको खेल मैदान र च्यासल स्थित च्यासल रङ्गशालाको मैदानमा व्यवस्था गरिएको छ ।
यता, एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिएको छैन । मैदानको सतह नमिलेको, ड्रेनेज राम्रो नभएको, सिट नम्बर व्यवस्थित नभएको, प्यारापिट छिर्ने गेट सहज नभएको, भिआईपीदेखि मिडिया प्रवेश र खेलाडी प्रवेश गर्ने गेट एउटै भएको, मैदानको जमिन सतह बराबर नभएको जनाउँदै एएफसीले मलेसिया र भियतनामविरुद्धको खेल दशरथ रंगशालामा गराउन नसक्ने एन्फालाई जानकारी गराएको छ ।