
काठमाडौँ- सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।
रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागार सारिएका लामिछानेको स्वास्थ्यमा समस्या देखिएको हो ।
सभापति लामिछानेलाई भेट्न गएका रास्वपाका उपसभापति डिपी अर्यालले छालामा सामान्यभन्दा फरक देखिएको बताए ।
आइतबार भारत भ्रमणबाट फर्किएलगत्तै अर्याल कारागार पुगेका थिए । ‘आज म भेट्न पुग्दा उहाँको स्किन केही फरक भएको पाएँ । पहिलेको भन्दा उहाँको स्किन परिवर्तन देखियो,’ अर्यालले भने, ‘मैले उहाँको स्वास्थ्य परीक्षण आवश्यक छ भनेर जेल प्रशासनलाई जानकारी गराएँ ।’
स्वास्थ्य समस्या देखिएपछि कारागार प्रशासनलाई जानकारी गराइएको र बाहिर लैजाँदा सुरक्षा चुनौती हुने भन्दै जेलरले डाक्टरलाई नै भित्रै बोलाउने सुझाव दिएका थिए ।
त्यसअनुसार अहिले ट्रमा सेन्टरबाट चिकित्सकको टोली नख्खु कारागार पुगेको अर्यालले जानकारी दिए ।
रुपन्देही कारागारमा रहँदा लामिछाने घाममा ननिस्किएको, कोठाभित्रै सीमित रहँदा छालामा असर परेको हुनसक्ने उपसभापति अर्यालको अनुमान छ ।