
काठमाडौं– नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको राजनीतिक सक्रियता बढेको छ।
विभिन्न पार्टीका नेताहरुसँग निरन्तर भेट गरिरहेका उनले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग सोमबार हात्तिवन पुगेर वार्ता गरेका छन्।
ललितपुरको हात्तीवनस्थित श्रेष्ठ निवासमा सोमबार बिहान दुई नेताबीच छलफल भएको हो।
पूर्व उपप्रधानमन्त्री द्वयबीचको छलफलमा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा भएको श्रेष्ठको सचिवालयले जनाएको छ।
भेटमा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा संघर्षरत शक्तिहरूको भूमिकाबारे विस्तृत छलफल भएको बताइएको छ।
दुई नेताबीचको भेटपछि श्रेष्ठको सचिवालयले यथास्थितिको अन्त्य, लोकतान्त्रिक उपलब्धिहरूको रक्षा तथा समृद्ध नेपाल निर्माण गर्दै समाजवादको दिशातर्फ अघि बढ्न आवश्यक कदमबारे विचार विमर्श भएको जनाइएको छ।
यादवले भने श्रेष्ठसँग भएको भेटमा राजनीतिक विषयमा कुनै छलफल नभएको दाबी गरेका छन्।
यसअघि श्रेष्ठले नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेकपा (कीकृत समाजवादी) का महासचिव घनश्याम भुषाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
त्यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उनको भेट भएको थियो।